पोखरा २४: वडासदस्यलाई छुवाछुत गरेका वडाध्यक्षलाई ७५ हजार जरिवानासहित साढे ४ महिना कैद
पाेखरा | मंसिर ७, २०८०
तस्बिर फाइल
पोखरा: पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय विभेद तथा छुवाछूतको कसुरमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बुधबार उक्त फैसला गरेको हो । पीडित दलित महिला वडा सदस्य मैया नेपालीलाई अधिकारीले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसलामा उल्लेख छ ।
आफ्नै वडाध्यक्ष जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि दलित महिला सदस्य नेपालीले कानुनी उपचार खोजेकी थिइन् । वडाध्यक्ष अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा २०७९ पुस २४ मा जाहेरी दर्ता गराएकी थिइन् । अधिकारी पुस २६ मा पक्राउ परेर माघ ९ मा एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।
जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ बमोजिम अदालतले सजाय तोकेको अधिवक्ता कुञ्जनी परियारले बताइन् । उक्त ऐनमा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था छ । कसुरदारले पीडितलाई क्षतिपूर्ति समेत भराउनुपर्छ ।
अदालतले ३ महिना कैद र ५० हजार जरिवाना तोके पनि अधिकारी सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले थप ५० प्रतिशत सजाय भएको हो । पोखरा–२४ कास्कीकोटमा वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुन् भने बाँकी ४ सदस्य एमालेबाट निर्वाचित भएका हुन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

